वीरगञ्ज । नेपाली काँग्रेसबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटा चुनाव नजिकिँदै जाँदा मात्रै नगवा क्षेत्रमा देखा परेका छन् । लामो समयसम्म जनताबीच अनुपस्थित रहेका रुङटाले नगवामा युवा तथा अग्रज कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल गरे पनि स्थानीयस्तरमा यसलाई नियमित राजनीतिक गतिविधिभन्दा बढी चुनावी औपचारिकता का रूपमा हेरिएको छ ।
भेटघाट कार्यक्रममा रुङटाले “जनताको विश्वास नै आफ्नो शक्ति” भएको दाबी गरे पनि स्थानीयहरू भने उनको यो भनाइ व्यवहारमा कहिल्यै महसुस गर्न नपाएको गुनासो गर्छन् । चुनावी भाषणमा सीमित प्रतिबद्धता र व्यवहारमा नदेखिने उपस्थितिले जनविश्वास कति मजबुत छ भन्ने प्रश्न उठेको छ ।
रुङटाले विगतका नेताहरूले नगवाका जनतालाई भ्रममा पारेको आरोप लगाउँदै चुनाव जितेपछि नगवा पोखरी विकास गर्ने आश्वासन दिए । तर स्थानीय मतदाताहरू भने यस्ता विकासका कुरा हरेक चुनावमा दोहोरिने तर परिणाम कहिल्यै नदेखिने पुरानै कथन भएको टिप्पणी गर्छन् । “नगवा पोखरीको नाम लिएर धेरैले राजनीति गरे, तर पोखरीको हालत उस्तै छ,” एक स्थानीयको गुनासो छ ।
कार्यक्रममा पार्टी सङ्गठन सुदृढीकरण र युवाको भूमिकाबारे चर्चा गरिए पनि काँग्रेसको संगठन नगवामा किन कमजोर हुँदै गएको हो भन्ने विषयमा उम्मेदवारले कुनै आत्मालोचना नगरेको आरोप छ । युवालाई ‘घर–घर सन्देश पुर्याउने’ जिम्मेवारी थोपरे पनि नेताहरू आफैँ जनताबीच किन नपुग्ने भन्ने प्रश्न अनुत्तरित नै रह्यो ।
स्थानीय कार्यकर्ताहरूले क्षेत्रका समस्या र अपेक्षा राखे पनि ती सुझावहरू केवल औपचारिकतामा सीमित हुने हुन् कि भन्ने शंका व्यापक छ । विगतका चुनावमा पनि यस्तै भेटघाट, यस्तै आश्वासन र त्यसपछि लामो मौनता देखिएको अनुभव कार्यकर्ताहरू सुनाउँछन् ।
नगवामा गरिएको यो भेटघाटले नेपाली काँग्रेसको संगठन बलियो बनाउनेभन्दा पनि चुनाव नजिकिँदै जाँदा देखाइएको प्रतीकात्मक सक्रियता मात्र भएको आलोचना सुरु भएको छ । स्थानीय मतदाताहरू अब भाषण र आश्वासनभन्दा कामको हिसाब खोज्ने मुडमा देखिएका छन् ।
पर्सा क्षेत्र नं. १ का मतदाताहरूका लागि प्रश्न स्पष्ट छ—
अनिल रुङटा यसपटक पनि चुनावी मौसमका पाहुना मात्र हुन्, कि साँच्चै जनताको बीचमा रहने नेता?




