काठमाडाैं,१५ माघ । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृति माध्यमिक विद्यालयका एक शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही विद्यालयमा अध्यापनरत शिक्षक जितराज गिरी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक काजिकुमार आचार्यले जानकारी दिए। उनलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विद्यालय नजिकै रहेको आफ्नै स्टेशनरी पसलमा पुगेकी कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रामाथि गिरीले यौन दुर्व्यवहार गरेको आरोप छ। पीडित बालिकाले घटना आफन्तलाई बताएपछि प्रहरीमा जाहेरी दर्ता गरिएको हो।
यौन दुर्व्यवहारको आरोप भने गिरीले अस्वीकार गर्दै आएका छन्। उनले ‘माया गरेर गाला मात्रै छोएको’ दाबी गरेपछि बालिकाका आफन्त र अभिभावकहरूले विरोध जनाउँदै विद्यालयमा छलफलसमेत गरेका थिए। तर, सहमति नजुट्दा अवस्था तनावग्रस्त बनेको प्रहरीले जनाएको छ।
परिस्थिति तनावपूर्ण बन्दै गएपछि प्रहरीले आरोपित शिक्षकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।




