सर्लाही, १५ माघ । नेपाली कांग्रेसमा प्रवेश गरेको भोलिपल्टै सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ता आफ्नो पुरानै पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपालमा फर्किएका छन्।
हिजो बुधबार मात्र कांग्रेस सभापति गगन थापाले पार्टी प्रवेश गराएका गुप्ताले आज औपचारिक रूपमा कांग्रेस परित्याग गर्दै जसपा नेपालमै पुनः आबद्ध भएको घोषणा गरेका हुन्। उनले आगामी निर्वाचनमा पनि जसपा नेपाललाई नै सहयोग गर्ने स्पष्ट पारेका छन्।
एक भिडियो सन्देशमार्फत वडाध्यक्ष गुप्ताले आफू सुरुदेखि नै जसपा नेपालको सदस्य रहेको, पार्टीप्रति प्रतिबद्ध रहँदै गोडैता नगरपालिका–५ बाट निर्वाचित वडाध्यक्षका रूपमा काम गरिरहेको बताए। उनका अनुसार पार्टीबीचको गठबन्धनका कारण केही समयका लागि नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्र सिंहसँग नजिकिएको र सोही क्रममा कांग्रेसतर्फ गएको बेला आफूलाई सम्मान गरिएको थियो।
तर, आफ्नो राजनीतिक विचार, प्रतिबद्धता र भविष्य जसपा नेपालमै रहेको जनाउँदै उनले पुनः पुरानै पार्टीमा फर्किने निर्णय गरेको बताएका छन्।




