काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता लगातार लुटपाट गर्दै आएको एक संगठित गिरोहलाई प्रहरीले लामो अपरेसनपछि नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले करिब ९ घण्टा चलेको कारबाहीपछि मुलपानी क्षेत्रमा गोली चलाउँदै गिरोहका मुख्य योजनाकारसहित १० जनालाई पक्राउ गरेको हो।
प्रहरी अनुसन्धानमा अनुसार गिरोहको नेतृत्व काभ्रे भुम्लुका २३ वर्षीय विनय तामाङले गरेका थिए। तामाङ यसअघि डाँका र चोरी मुद्दामा प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा थिए। केही समयअघि भएको ‘जेनजी आन्दोलन’को अव्यवस्थाको फाइदा उठाउँदै उनी हिरासतबाट फरार भएका थिए। फरार भएपछि उनले विभिन्न आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई समेटेर नयाँ लुटपाट समूह गठन गरेको खुलेको छ।
प्रहरीका अनुसार गिरोहले अत्यन्तै योजनाबद्ध तरिकाले अपराध गर्दै आएको थियो। दिउँसो निजी कार (बा १२ च ७७०१) र ट्याक्सी प्रयोग गरी उपत्यकाका विभिन्न स्थानमा निगरानी गर्ने र राति ती सवारी साधन थन्क्याएर ६ वटा तीव्र गतिका पल्सर मोटरसाइकलमार्फत लुटपाटमा निस्कने गरेका थिए। एउटै मोटरसाइकलमा तीन जनासम्म सवार हुने र नम्बर प्लेट नदेखियोस् भनेर हिलो छ्याप्ने गरेको समेत पाइएको छ।
खुकुरी बोकेर निस्कने यो समूहले सडकमा हिँड्ने सर्वसाधारणलाई निशाना बनाउने गरेको थियो। विशेषगरी तरकारी बेचेर फर्कने महिला तथा राति काम सकेर घर फर्कने व्यक्तिहरू उनीहरूको मुख्य लक्ष्य हुने गरेका थिए। लुटपाटका क्रममा केही पीडितको कान च्यातिनुका साथै गम्भीर चोटसमेत लागेको एसएसपी रमेश थापाले जानकारी दिए।
पक्राउ कसरी परे ?
बुधबार साँझ ६ बजेदेखि सुरु भएको प्रहरी अपरेसन बिहीबार बिहान ३ बजेसम्म चलेको थियो। मुलपानी क्रिकेट मैदान नजिकैको चेकिङमा प्रहरीमाथि नै धक्कामुक्की गर्दै भाग्न खोजेपछि प्रहरीले बाध्य भएर गोली चलाएको जनाएको छ। गोली लागेर घाइते भएका मुख्य नाइके तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
पक्राउ पर्नेहरूमा विनय तामाङ, आयन माझी, सविन माझी, मनिष रमाइली (सुन कालिगढ), पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन्। उनीहरू सबै यसअघि पनि चोरी र डाँका मुद्दामा पटक–पटक जेल परेका ‘पटके’ अभियुक्त रहेको प्रहरीले जनाएको छ।
गिरोहले स्वयम्भू, बौद्ध, कपन, कोटेश्वर र बुढानीलकण्ठसहित २७ स्थानमा लुटपाट गरेको स्वीकार गरेको छ। प्रहरीले उनीहरूको साथबाट लुटिएका सुनका गहना, मोबाइल फोन, नगद रकम तथा लुटपाटमा प्रयोग भएका ६ वटा मोटरसाइकल, एउटा कार र एउटा ट्याक्सी बरामद गरेको छ।
लुटिएका गहना खरिद गर्ने सुन पसलका कालिगढहरूलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




