वीरगञ्ज, १५ माघ – हरेक निर्वाचनको समयमा पार्टी परिवर्तन गर्दै आएका मुकेश द्विवेदीले पुनः एक पटक पार्टी परिवर्तन गरेका छन्। हालसम्म उनी दर्जनौँ पटक पार्टी फेरिसकेका छन्। यसअघि जनता समाजवादी पार्टीमा रहेका द्विवेदीले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टी परिवर्तन गरेका हुन्।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघबाट ठाकुरराम बहुमुखी क्याम्पस हुँदै राजनीतिक यात्रा सुरु गरेका द्विवेदीले हालसम्म साना–ठूला सबैजसो पार्टीहरू प्रवेश गरिसकेका छन्।
स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपालमा रही वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई जिताउने अभियानमा उनी सक्रिय थिए। तर निर्वाचनको नतिजा सार्वजनिक भएको केही दिन नबित्दै सिंहसँग रुष्ट हुँदै उनले पार्टी परित्याग गरेका थिए।
त्यसपछि उनी जनमत पार्टीमा प्रवेश गरेका थिए। जनता समाजवादी पार्टी नेपाल परित्याग गरी प्रदीप यादवलगायतको समूहले विद्रोह गर्दै जनता समाजवादी पार्टी गठन गरेपछि तत्कालीन मन्त्री प्रदीप यादवकै पहलमा उनी पुनः जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए।
पछि यादव नेकपा एमाले प्रवेश गरेलगत्तै द्विवेदी पनि नेकपा एमालेमा प्रवेश गरेको चर्चा छ। उनी पर्सा निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार रिमा यादवलाई जिताउने अभियानमा सक्रिय रहेको बताइन्छ।
नेपाली कांग्रेसदेखि माओवादी केन्द्र, जसपा,देखि राष्ट्रिय मेधश समाजवादी पार्टी र जनमतदेखि एमालेसम्मको राजनीतिक यात्रा गरिसकेका द्विवेदीले अब प्रवेश नगरेको पार्टी बाँकी नरहेको पर्साका राजनीतिक विश्लेषकहरू बताउँछन्। ५ बर्षमा उनले ३ पटकसम्म पार्टी फरेको इतिहास पनि रहको जानकारहरुको भनाई छ ।
पछिल्लो पटक पर्सा क्षेत्र नं. २ मा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा उनले दिएको भाषण हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। एमालेका लागि उनले भाषण गरेको भिडियो देखेर उनका साथीहरू समेत अचम्मित भएका छन्।




