spot_img

आज शहीद दिवस: अमर शहीदहरूको स्मरणमा देशभर श्रद्धाञ्जली कार्यक्रम

spot_img
spot_img

काठमाडौँ, १६ माघ । प्रजातन्त्र स्थापना र नागरिक स्वतन्त्रताका लागि जीवन बलिदान गर्ने अमर शहीदहरूको सम्मानमा आज देशभर शहीद दिवस मनाइँदैछ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सञ्चालन हुने शहीद सप्ताहको अन्तिम दिनका रूपमा शुक्रबार विभिन्न कार्यक्रममार्फत शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ।

निरङ्कुश राणा शासनविरुद्ध सङ्घर्ष गर्दै प्राण आहुति दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदान स्मरण गर्दै यो दिवस मनाउने परम्परा छ। यी चार वीर शहीदले नेपाली समाजमा प्रजातन्त्र र स्वतन्त्र चेतनाको बीउ रोपेका थिए।

इतिहासअनुसार विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, माघ १२ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो। त्यसैगरी माघ १४ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीस्थित भचाखुसीमा गोली हानी हत्या गरिएको थियो। सोही आन्दोलनमा संलग्न भएको आरोपमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई भने चारपाटा मुडेर आजीवन काराबासको सजाय दिइएको थियो। उनीहरूले कारागारमै शहीद दिवस मनाउन थालेको इतिहास छ, जुन प्रजातन्त्रको उदयपछि मात्रै सार्वजनिक भएको थियो।

नेपालमा शहीद सप्ताह मनाउने परम्परा विसं २००९ मा तत्कालीन राजा त्रिभुवनको अध्यक्षतामा सुरु भएको थियो। विसं २०११ मा प्रजापरिषद्ले यसलाई निरन्तरता दिएको भए पनि २०१७ सालपछि दलहरूमाथि प्रतिबन्ध लाग्दा केही समय यो दिवस ओझेलमा पर्‍यो। विसं २०४६ को जनआन्दोलनपछि भने काठमाडौँ महानगरपालिका र राज्यस्तरबाट शहीद दिवस पुनः विशेष महत्त्वका साथ मनाउन थालिएको हो।

नेपालको पहिलो शहीदका रूपमा लखन थापालाई मानिए पनि विसं १९९७ का चार शहीदलाई प्रजातन्त्रका आधारस्तम्भका रूपमा सम्मान गरिँदै आएको छ। आज काठमाडौँ महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ भने सरकारले पनि औपचारिक कार्यक्रममार्फत शहीदहरूको त्याग र बलिदानको चर्चा गरिरहेको छ।

शहीदले देखाएको लोकतान्त्रिक मार्गमा दृढतापूर्वक अघि बढ्नु र उनीहरूको सपना साकार पार्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय