काठमाडौँ,१६ माघ । राष्ट्रिय सूचना आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सत्यतथ्य र यथार्थमा आधारित समाचार तथा सूचना सम्प्रेषण गर्न सबै पक्षलाई आग्रह गरेको छ।
आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयमुक्त बनाउन सूचना प्रवाहमा जिम्मेवार भूमिका निर्वाह गर्न सरोकारवाला सबैलाई अपिल गरेको हो। सम्मेलनमा आयोगका आयुक्त तथा प्रवक्ता गगन विष्टले निर्वाचनका बेला फैलिने भ्रामक, गलत र नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियालाई गम्भीर क्षति पुर्याउने चेतावनी दिए।
प्रवक्ता विष्टले निर्वाचनसम्बन्धी सूचना समयमै, स्पष्ट र सबैले बुझ्ने गरी सार्वजनिक गर्नुपर्नेमा जोड दिए। गलत तथा भ्रम सिर्जना गर्ने सूचनामाथि प्रभावकारी निगरानी र नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय रहन पनि उनले सरकारलाई सचेत गराए।
आयोगले निर्वाचन आयोगलाई मतदाता शिक्षा कार्यक्रम अझ प्रभावकारी बनाउने, बहुभाषिक माध्यमबाट सूचना प्रवाह गर्ने तथा निर्वाचनसम्बन्धी ऐन, कानुन, निर्देशिका र आचारसंहिता समयमै सार्वजनिक गर्न सुझाव दिएको छ।
त्यसैगरी राजनीतिक दल र उम्मेदवारलाई आफ्नो उम्मेदवारीबारे तथ्यमा आधारित सूचना मात्र सार्वजनिक गर्न, गालीगलौज, दुष्प्रचार तथा मिथ्या सूचना प्रयोग नगर्न आयोगले निर्देशन दिएको छ। प्रत्येक दलले निर्वाचनसम्बन्धी सूचना प्रवाहका लागि स्पष्ट रूपमा सूचना अधिकारी तोक्नुपर्ने पनि आयोगको भनाइ छ।
सञ्चारमाध्यमलाई निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा निष्पक्षता, सन्तुलन र समान पहुँचको सिद्धान्त पालना गर्न आग्रह गर्दै आयोगले कुनै दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारका रूपमा प्रकाशन वा प्रसारण नगर्न सचेत गराएको छ।
यस्तै, सर्वसाधारण नागरिकलाई पनि सामाजिक सञ्जाल वा अन्य माध्यममा सूचना साझा गर्नु अघि त्यसको स्रोत आधिकारिक र विश्वसनीय छ कि छैन भन्ने यकिन गर्न तथा भ्रामक सूचना देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आयोगले आग्रह गरेको छ।




