काठमाडाैं,१६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सनातन सभ्यता, उदार लोकतन्त्र र बहुलवादी समाजको संरक्षणमा स्पष्ट रूपमा उभिएको बताएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूविरुद्ध लगाइएका आरोपहरूको खण्डन गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
वाग्लेले सनातन सभ्यता र उन्नत लोकतन्त्र रास्वपाको स्पष्ट वैचारिक आधार रहेको उल्लेख गर्दै विपक्षीहरूले अनावश्यक भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। “हामी सनातन सभ्यताको रक्षक, उदार, सहिष्णु र बहुलवादी समाजको कवच हौँ,” उनले लेखेका छन्।
उनले पार्टीबारे धारणा बनाउँदा रास्वपाका सार्वजनिक दस्तावेजहरू अध्ययन गर्न आग्रह गरेका छन्। पार्टीका दस्तावेजमै नेपालको इतिहास र सनातन सभ्यताप्रति गर्व गरिएको स्पष्ट रूपमा उल्लेख रहेको उनको भनाइ छ। “हाम्रै दस्तावेजमा सबै कुरा लेखिएको छ, त्यहीँबाट निष्कर्ष निकाल्न सकिन्छ,” वाग्लेले उल्लेख गरेका छन्।




