spot_img

सहिदको आकाङ्क्षा पूरा गर्न मन, वचन र कर्मले समर्पित हुनुपर्छ : राष्ट्रपति पाैडेल

spot_img
spot_img

काठमाडौँ,१६ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दिवसको अवसरमा जारी सन्देशमा सम्पूर्ण राजनीतिक दल, आम नागरिक र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त सहिदहरूको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् ।

राष्ट्रपतिका अनुसार आफ्नो अमूल्य जीवन जनता र राष्ट्रको हितमा समर्पण गर्नु नै सहादत हो । यस दिवसले सहिदहरूको आकाङ्क्षा साकार पार्न प्रेरणा र हौसला प्रदान गर्नुपर्छ।

उनले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरू—शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । राष्ट्रपति पौडेलले सहिद दिवसलाई देशका लागि प्राण आहुति दिने महान् सहिदहरूको विशेष सम्झना गरिने दिनको रूपमा मनाउनुपर्नेमा जोड दिए ।

सन्देशमा भनिएको छ, “नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउने लक्ष्यका लागि इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर र वीराङ्गनाहरूलाई सम्झँदै हरेक वर्ष माघ १६ गते सहिद दिवसको रूपमा मनाउँदै आएका छौँ।”

राष्ट्रपति पौडेलले महान् सहिदहरूको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रयोग गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अघि बढ्नु नै सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरे ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय