वीरगञ्ज, १६ माघ – आज बिहानदेखि वीरगञ्जमा हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ। बिहीबार दिनभर मौसम सफा रही घाम लागेको भए पनि शुक्रबार बिहानैदेखि शीतलहर चलेपछि तापक्रममा एकाएक गिरावट आएको हो। बिहान ११ बजेसम्म पनि वीरगञ्जमा घाम लागेको छैन।
अत्यधिक चिसोका कारण वीरगञ्ज बजार क्षेत्रमा चहलपहल घटेको छ। बसन्त पञ्चमीपछि मौसममा केही सुधार आएको भए पनि आज बिहानदेखि पर्सा, बारा, रौतहटलगायत मधेश प्रदेशका जिल्लाहरूमा चिसो बढेको बताइएको छ।
आज सहिद दिवस परेकाले देशभरका सरकारी कार्यालय तथा शैक्षिक संस्थानहरू बन्द छन्। बालबालिका घरमै रहेकाले केही सहज भएको स्थानीय पालिकाले जनाएको छ। माघ महिनाको कडा जाडो आज विशेष रूपमा महसुस भएको वीरगञ्जका स्थानीयवासीहरूले बताएका छन्।




