बीरगन्ज,१६ माघ । सहिद दिवसको अवसरमा कलैया सिटी जेसिजले मधेस आन्दोलनका सहिद हिफाजत मियाको परिवारलाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको छ। बाराको कलैया उपमहानगरपालिका–७ रंगपुर निवासी सहिद मियाको परिवारलाई आज एक कार्यक्रमबीच सहयोग सामग्री प्रदान गरिएको हो।
कलैया सिटी जेसिज २०२६ का अध्यक्ष संदिप कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, वडा नं. ७ का अध्यक्ष सैफुल्लाह अन्सारीले सहिद मियाका बुबा–आमालाई सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रम संयोजक आदिल अन्सारीका अनुसार “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने नारासहित चामल, दाल, बिस्कुट, चाउचाउ, कपी–पेन्सिल, कपडा, सर्फ, साबुनलगायत सामग्री वितरण गरिएको थियो।
प्रमुख अतिथि वडा अध्यक्ष अन्सारीले सहिद मियाका छोरालाई फुटबल तथा अन्य खेलकुद सामग्री उपलब्ध गराउने वचन दिएका छन् र आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए। कलैया सिटी जेसिजका अध्यक्ष साहले भने, “जेसिज स्थापना भएको १७ वर्षपछि सहिद परिवारलाई सहयोग गर्न पाएकोमा खुसी लागेको छ। सहिद परिवारको योगदानलाई सधैं सम्झनुपर्छ,” साथै जनप्रतिनिधि र सरोकारवालालाई पनि सहिद परिवारप्रति सहयोगी बन्न आग्रह गरे।
कार्यक्रममा सहिद मियाका बुवा नाजिम मिया अन्सारी, आमा बिगन खातुन, कलैया सिटी जेसिज २०२५ का अध्यक्ष ओमप्रकाश सरार्फ, आजीवन सदस्य दिपेन्द्र प्रसाद साह, कानुनी सल्लाहकार सुरज कुमार गिरि, उपाध्यक्ष सतेन्द्र गुप्ता, मिडिया संयोजक संदिप यादव लगायत जेसिजका पदाधिकारी र समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम महासचिव संजय कुशवाहाले सञ्चालन गरेका थिए।
यस्तै, बारा जिल्लाको सदरमुकाम कलैयास्थित मुख्य भरत चोकमा आज साँझ वीर सहिदहरूको सम्मानमा दीप प्रज्वलन कार्यक्रम पनि आयोजना गरिएको छ।




