चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा ४० जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनाले उपचारपछि घर फर्किएका छन्।
भरतपुर महानगरपालिका–२९ घुमाउने क्षेत्रमा दाङबाट काठमाडौँतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बाँकी घाइतेहरूको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनका अनुसार मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १७ जना तथा चितवन मेडिकल कलेज भरतपुरमा पाँच जना घाइतेको उपचार भइरहेको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




