वीरगन्ज,१६ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा करिब एक सय युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। वीरगन्जको घण्टाघरस्थित क्लासिक ब्यांक्वेट प्यालेसमा आयोजित कार्यक्रममा युवाहरूले औपचारिक रूपमा पार्टी सदस्यता ग्रहण गरेका हुन्।
पार्टी प्रवेश गर्ने युवाहरूले देशलाई पुराना राजनीतिक दलहरूले गलत दिशामा लगिरहेको आरोप लगाउँदै अब मुलुकलाई सही मार्गतर्फ अघि बढाउने आशा रास्वपाबाट देखेको बताएका छन्। उनका अनुसार, “अब पुराना दलबाट देशको सुधार सम्भव छैन, परिवर्तन र सुशासनको भरोसा रास्वपामा देखेका छौँ।”
कार्यक्रम पर्सा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। पन्तले युवाहरूको सहभागिताले पार्टीलाई नयाँ ऊर्जा र बल मिलेको उल्लेख गर्दै स्वच्छ राजनीति, सुशासन र जवाफदेही शासन प्रणालीको स्थापनाका लागि पार्टी प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा रास्वपा जिल्ला सचिव सुदिप प्रजापति, पर्सा–१ का सभापति राम आर्य, नगर उपाध्यक्ष आशुतोष द्विवेदी, नगर सचिव गौतम श्रेष्ठ लगायत पार्टीका पदाधिकारी र नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। पार्टी प्रवेश गर्ने युवाहरूमा निरज कुमार, आनन्द चौरसियाललगायत विभिन्न क्षेत्रका सक्रिय युवा नेता–कार्यकर्ताहरू रहेका छन्।




