काठमाडौं,१६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारका क्रममा अछाम पुगेका एक व्यक्ति बुधबार बिहान अचानक बेहोस भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
नुवाकोटका ४४ वर्षीय दिनेश सिटौला अछाममा रहँदा एक्कासी बेहोस भएका थिए। अवस्थालाई गम्भीर मान्दै उनलाई तत्काल हवाई उद्धार गरेर उपचारका लागि काठमाडौं पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिए।
प्रजिअ बुढाका अनुसार सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर सिटौलालाई काठमाडौं ल्याइएको हो। “सुर्खेतबाट हेलिकप्टर झिकाएर काठमाडौं पठाएका छौं,” उनले भने।
सिटौला काठमाडौं हुँदै बालेनसँगै चुनावी अभियानमा अछाम गएका थिए। स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन।




