काठमाडौं,१६ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अहिलेको पार्टीसँग हिजोका राम्रा कुरा सबै रहेको र नराम्रा कुरा अब बाँकी नरहेको दाबी गरेका छन्। शुक्रबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले मतदातालाई आश्वस्त पार्दै यस्तो बताएका हुन्।
सभापति थापाले भने, “अहिलेको कांग्रेससँग हिजोको कांग्रेसका राम्रा कुरा सबै छन्। हिजोको सबै कुरा खराब हुँदैन। हामीलाई हाम्रो राम्रा कुराको इतिहाससँग गौरव छ। त्यो हाम्रो परम्परा हो, संस्कृति हो।”
उनले हिजोका खराब कुरालाई छोडेर नयाँ समय र नयाँ माग अनुसार अघि बढ्ने कांग्रेसको दृष्टिकोणको बारेमा चर्चा गरे। उनले थपे, “हिजोका गल्ती–कमजोरी यो कांग्रेसले दोहोर्याउँदैन। अब भ्रष्टाचार र कुशासन अन्त्य गर्दै वर्षौँदेखि पूरा हुन नसकेको कामहरू पूरा गर्नेछौं।”
सभापति थापाले पार्टीको पाँच वर्षे योजना र देश परिवर्तन गर्ने दृष्टिकोण रहेको उल्लेख गर्दै मतदातालाई आगामी निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे।




