बीरगन्ज,१६ माघ । नेपाल ईनोभेटिभ सोसाइटी पर्साको आयोजनामा मानवसेवा आश्रम बीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ। शिविरमा आश्रममा आश्रित आमा–बुबाहरूको स्वास्थ्य जाँच र आवश्यक परामर्श प्रदान गरिएको थियो।
कार्यक्रम सोसाइटीका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन संस्थाका सचिव ऋषि राज सत्यालले गर्नुभएको थियो। शिविरका संयोजक आयसा हुमागाई र मानवसेवा आश्रमका संस्थापक देवेश गुप्ताले समेत कार्यक्रममा सहभागिता जनाउनुभएको थियो।
स्वास्थ्य परीक्षणको क्रममा नारायणी अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी हेमा थापासहित डा. निरज कुमार सिंह, डा. मनोज उपाध्याय र डा. प्रीती यादवले सेवा प्रदान गर्नुभएको थियो। चिकित्सक टोलीले सहभागीहरूको विस्तृत स्वास्थ्य जाँच गरी आवश्यक परामर्श दिएको थियो।
शिविरमा विभिन्न रोगसम्बन्धी औषधि, मानसिक स्वास्थ्य औषधि, भिटामिन, स्यानिटरी प्याड, ग्लोब लगायतका सामग्री निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ। चिकित्सक टोलीका अनुसार केही सहभागीमा आङ खस्ने समस्या, स्तनमा गाँठो, योनिमा घाउ, पिसाब चुहिने समस्या र पाठेघरसम्बन्धी समस्याहरू देखिएका थिए। ती समस्याका लागि आवश्यक परामर्श र उपचार प्रक्रिया सम्बन्धी सुझावसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष चौगाईले समाजका पछाडि परेका, असहाय र आश्रममा आश्रित नागरिकहरूको स्वास्थ्यप्रति संस्थाको गहिरो चासो रहेको बताए। उनले भने, “मानवसेवा आश्रमका आमा–बुबाहरू हाम्रो समाजका अमूल्य अभिभावक हुनुहुन्छ। उहाँहरूको स्वास्थ्यमा सानो भए पनि योगदान पुर्याउन पाउनु हाम्रो संस्थाका लागि गौरवको विषय हो।”
साथै, सोसाइटीले आगामी दिनमा यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




