काठमाडौं,१६ माघ । नेकपा एमालेका सचिव महेश बस्नेतले देशभर घुमन्ते उम्मेदवार जाने चलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरु गरेको आरोप लगाएका छन्। राष्ट्रिय युवा संघ, केन्द्रीय युवा परिषद्को बैठकलाई सम्बोधन गर्दै बस्नेतले मतदाताहरुलाई घुमन्ते उम्मेदवारलाई घुमाएर फर्काउन र आफ्नो पार्टीलाई भोट दिन आग्रह गरे।
उनले भने, “अहिले देशभर घुमन्ते उम्मेदवार जाने चलन रास्वपाले चलाएको हो। घुमन्तेलाई घुमाइदिनुस्, विकास र समृद्धि देखाइदिनुस्, भोट नेकपा एमालेलाई हालिदिनुस्।” साथै, उनले झापा लगायत देशभरका मतदातालाई रैथाने उम्मेदवारलाई मतदान गर्न पनि अनुरोध गरे। उनले जोड दिए, “यसपटकको चुनावमा घुमन्ते उम्मेदवार बाइबाइ, रैथाने उम्मेदवार हाइहाइ। नेकपा एमाले जिन्दावाद, घुमन्ते उम्मेदवार मुर्दावाद।”
बस्नेतले आफ्नो सम्बोधनमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च भइरहेको दाबी पनि गरे। उनका अनुसार, यो प्रपञ्चले चुनावी माहोलमा अविश्वास फैलाउने उद्देश्य राखेको छ।




