spot_img

निःशुल्क स्वास्थ्य शिविरले देखायो मानवसेवा आश्रमका आमाबुबाको पीडा

spot_img
spot_img

बीरगन्ज,१६ माघ । मानवसेवा आश्रम, बीरगन्जमा आश्रित आमा–बुबाहरूको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको खुलासा भएको छ। नेपाल इन्नोभेटिभ सोसाइटी पर्साको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरका क्रममा आश्रममा रहेका धेरैजसो नागरिक दीर्घकालीन तथा गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेको पाइएको हो।

स्वास्थ्य शिविरमा सहभागी चिकित्सकहरूको टोलीले गरेको परीक्षणका क्रममा केही महिलामा आङ खस्ने, स्तनमा गाँठो, योनिमा घाउ, पिसाब चुहिने तथा पाठेघरसम्बन्धी जटिल समस्या देखिएको जनाएको छ। लामो समयदेखि उपचारको पहुँचबाहिर रहेका असहाय तथा बेसहारा नागरिकमा यस्ता समस्या देखिनु गम्भीर चिन्ताको विषय भएको चिकित्सकहरूले बताएका छन्।

शिविरमा नारायणी अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी हेमा थापासहित डा. निरज कुमार सिंह, डा. मनोज उपाध्याय र डा. प्रीती यादवको टोलीले आश्रमका आमाबुबाको समग्र स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणपछि आवश्यक परामर्श, थप जाँच र उपचार प्रक्रियाबारे व्यक्तिगत रूपमा सुझावसमेत प्रदान गरिएको थियो।

स्वास्थ्य परीक्षणका अतिरिक्त शिविरमा मानसिक स्वास्थ्यसम्बन्धी औषधि, विभिन्न रोगका औषधि, भिटामिन, स्यानिटरी प्याड, ग्लोभ्सलगायत अत्यावश्यक सामग्री निःशुल्क वितरण गरिएको थियो।

कार्यक्रम नेपाल इन्नोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा सम्पन्न भएको हो। अध्यक्ष चौगाईले मानवसेवा आश्रममा आश्रित आमा–बुबाहरू समाजले बिर्सन नहुने अभिभावक भएको उल्लेख गर्दै भने, “उहाँहरू मौन पीडा बोकेर बाँचिरहनुभएको छ। उहाँहरूको स्वास्थ्य संरक्षणमा सानो योगदान दिन पाउनु हाम्रो संस्थाका लागि गर्वको विषय हो।”

शिविरको समापनमा आयोजक संस्थाले असहाय, पछाडि परेका तथा आश्रममा आश्रित नागरिकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय