spot_img

सामाजिक उत्तरदायित्वसहित कालिका टाईम्सले मनाइयो वार्षिकोत्सव

spot_img
spot_img

बीरगन्ज,१६ माघ । बीरगन्जबाट प्रकाशित कालिका टाईम्स दैनिक पत्रिकाले मानवसेवा आश्रम, बीरगन्जमा सामाजिक उत्तरदायित्वसहित आफ्नो छैटौँ वार्षिकोत्सव मनाएको छ। पाँच वर्षे यात्रा पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा आश्रममा आश्रित आमा–बुबालाई खाजा खुवाउँदै वार्षिकोत्सव आयोजना गरिएको हो।

कालिका टाईम्स प्रालिका प्रबन्ध निर्देशक छठु साहले डिजिटल युगमा पत्रकारिताको प्रतिस्पर्धा तीव्र बन्दै गएको उल्लेख गर्दै सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण नै पत्रिकाको मूल प्राथमिकता रहेको बताए। उनले भने, “हाम्रो यात्रामा केही कमजोरी हुन सक्छन्, तर ती स्वीकार गर्दै सुधार गर्ने प्रतिबद्धतासहित समाजलाई सकारात्मक दिशातर्फ लैजाने प्रयास निरन्तर जारी रहनेछ।”

दैनिक सञ्चालनका क्रममा विभिन्न चुनौतीहरूका बाबजुद खोजमूलक, निष्पक्ष र जनमुखी पत्रकारितालाई आधार बनाएर अघि बढिरहेको सम्पादक शम्भु कुमार सुमनले बताए। उनका अनुसार कालिका टाईम्सले सदरमुकाम मात्र होइन, ग्रामीण भेगका दबाइएका आवाज, ओझेलमा परेका विषय र आम नागरिकका पीडालाई निरन्तर उजागर गर्दै आएको छ।

संघीयता र गणतन्त्र स्थापनापछि पनि तराई–मधेशका धेरै नागरिक शोषण, गरिबी, बेरोजगारी र पछौटेपनको सिकार भइरहेकामा ध्यानाकर्षण गराउँदै, यस्ता मुद्दालाई समाचारमार्फत् उठान गर्नु नै पत्रिकाको दायित्व भएको सुमनले बताए।

प्रबन्ध निर्देशक छठु साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पादक सुमनसहित पत्रकारहरू मनोज पटेल, सन्तोष साह, विनोद पटेल, हरिशंकर शर्मा, ताजिन्द्र साह, दिपेन्द्र यादव, जयप्रकाश कुशवाहा, राधेश्याम पटेल, श्रवण साह, अमोद शर्मा लगायतको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवले कालिका टाईम्सको पत्रकारिताप्रतिको प्रतिबद्धता र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय