जनकपुर,१७ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस नै नेपालको सबैभन्दा ठूलो मधेसवादी पार्टी भएको दाबी गर्दै देशलाई सही दिशामा सम्हाल्ने शक्ति पनि कांग्रेससँग मात्रै रहेको बताएका छन्।
धनुषा निर्वाचन क्षेत्र नम्बर–४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले मधेसको विकास, अधिकार र पहिचानका मुद्दामा कांग्रेस सधैँ अग्रपंक्तिमा रहेको उल्लेख गरे। कुनै नयाँ पार्टी वा मधेस केन्द्रित दलतर्फ मतदाता आकर्षित भइरहेका सन्दर्भमा उनले आजको कांग्रेस ‘नयाँ कांग्रेस’ भएको स्पष्ट पार्दै त्यसबारे जनतालाई बुझाउन कार्यकर्तालाई आग्रह गरे।
“यदि कसैले मधेसवादी पार्टीलाई भोट हाल्छु भन्छ भने उसलाई भन्नुहोस्—आजको सन्दर्भमा नेपालको सबैभन्दा ठूलो मधेसवादी पार्टी नै नेपाली कांग्रेस हो,” थापाले भने। उनले राष्ट्रिय मुद्दासँगै स्थानीय र मधेसका समस्यालाई समग्र दृष्टिकोणबाट समाधान गर्ने सोचसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको बताए।
कार्यक्रममा थापाले धनुषा–४ का कांग्रेस उम्मेदवार महेन्द्र यादवको खुलेर प्रशंसा गरे। विद्यार्थी राजनीतिदेखि नै यादवसँगै काम गरेको अनुभव सम्झँदै उनले मधेसका मुद्दामा यादव निडर, स्पष्ट र सम्झौतारहित नेता भएको बताए। पार्टीभित्र फरक धारणा भए पनि मधेसको सवालमा यादवले कहिल्यै सम्झौता नगरेको भन्दै उनले यादवले मधेसको सशक्त प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे।
सभापति थापाले यसपटक कांग्रेस फरक सोच र कार्यशैलीका साथ अघि बढिरहेको दाबी गर्दै पार्टीभित्र अब कुनै गुटबन्दी नरहेको बताए। रुख चिन्ह लिएर उम्मेदवार बनेपछि व्यक्तिगत असन्तुष्टि बिर्सेर सबै एकढिक्का भएर लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए। अन्तरघात वा असहयोग हुने कुनै अवस्था स्वीकार्य नहुने उनको भनाइ थियो।
देश अहिले ध्वंस होइन, सम्हाल्ने नेतृत्व खोजिरहेको उल्लेख गर्दै थापाले त्यो क्षमता कांग्रेससँग मात्रै रहेको जिकिर गरे। कांग्रेसले देशलाई सम्हाल्दै व्यवस्था सुधार गर्ने काम एकसाथ गर्न सक्ने उनले बताए।
अन्त्यमा उनले कांग्रेसको एकल सरकार निर्माणका लागि धनुषाका सबै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै महेन्द्र यादवसहित विमलेन्द्र निधि, रामकृष्ण यादव र दिनेश साहलाई जिताएर पठाउन मतदातासमक्ष अपिल गरे।




