spot_img

पर्सा–१ मा जसपा महानगर अध्यक्ष यादवसहित १२० नेता–कार्यकर्ता एमाले प्रवेश

spot_img
spot_img

बीरगन्ज,१७ माघ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का वीरगन्ज महानगर अध्यक्ष इश्वरचन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन्। यादवसँगै वीरगन्ज महानगरपालिका–१५ का करिब १२० जना जसपाका नेता तथा कार्यकर्ता पनि एमालेमा आबद्ध भएका छन्।

शुक्रबार वडा नम्बर–१५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवसहित नवप्रवेशी कार्यकर्तालाई एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य तथा वीरगन्जका पूर्वमेयर विजयकुमार सरावगी, पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा लगायतका नेताहरूले स्वागत गरेका थिए।

पार्टी प्रवेशपछि बोल्दै यादवले मधेसका बाँकी मुद्दाहरूको सम्बोधन अब एमालेबाटै सम्भव हुने विश्वासका साथ जसपा परित्याग गरेको बताए। उनले केही शक्तिहरू विदेशी इशारामा नेपालको राष्ट्रियता र लोकतन्त्र कमजोर पार्ने षडयन्त्रमा लागेको आरोप लगाउँदै त्यसविरुद्ध प्रतिवाद गर्न सक्ने बलियो राजनीतिक शक्ति वर्तमान अवस्थामा एमाले मात्रै भएको दाबी गरे।

कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य प्रभु हजराले जसपाका वीरगन्ज महानगर अध्यक्षसहित ठूलो सङ्ख्यामा कार्यकर्ता एमाले प्रवेश गर्दा पर्सा–१ मा पार्टीको संगठन थप मजबुत भएको बताए। यसले आगामी निर्वाचनमा पर्सा–१ बाट एमाले उम्मेदवार प्रदीप यादवको जित अझ सुनिश्चित हुने उनको भनाइ थियो।

कार्यक्रममा एमाले पर्सा जिल्ला सचिव महेश दास, नेता पुरुषोत्तमलाल झा, गगनदेव पटेल, उमेशलाल सहनी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय