बीरगन्ज,२६ माघ । मधेश प्रदेश सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन सबै मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएको छ। प्रदेश अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा अत्यावश्यक बाहेकका खर्च कटौती गर्न परिपत्र जारी गर्दै बजेटको दुरुपयोग रोक्न र सीमित स्रोतसाधनको प्रभावकारी उपयोग गर्न आग्रह गरेको हो।
मन्त्रालयले सवारीसाधन तथा फर्निचर खरिद, कार्यालय सजावट, महँगा सामग्री खरिद, अनावश्यक गोष्ठी, भ्रमण र अतिथि सत्कारजस्ता खर्चमा कडाइ गर्न निर्देशन दिएको जनाएको छ। साथै, आवश्यकताबिना सवारीसाधन प्रयोग नगर्न, इन्धन खर्च घटाउन र मर्मतसम्भारमा समेत मितव्ययिता अपनाउन भनिएको छ।
अर्थ मन्त्रालयका अनुसार अत्यावश्यक सेवा प्रवाह, चालु विकास आयोजना र प्राथमिकतामा रहेका योजनामा भने कुनै असर नपर्ने गरी खर्च व्यवस्थापन गर्न भनिएको छ। खर्च कटौतीसम्बन्धी निर्देशनको कार्यान्वयन भए–नभएको अनुगमन गरिने र पालना नगर्ने निकायलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।





