बीरगन्ज,२९ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन जुटाउने उद्देश्यले उनले बिहीबार बिहान कालिकामाई गाउँपालिका–२ भेडिहारीमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्।
घरदैलोका क्रममा रिजालले टोल–टोलमा पुगेर स्थानीयसँग संवाद गर्दै क्षेत्रीय विकासलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन्। उनले रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, साथै कृषि क्षेत्रको आधुनिकीकरणलाई मुख्य एजेन्डाका रूपमा अघि सारे।
स्थानीय बासिन्दाले अधुरा पूर्वाधार योजना, सडक तथा सिंचाइ समस्याका साथै बढ्दो बेरोजगारीबारे गुनासा राखेका थिए। ती जिज्ञासा र गुनासोको जवाफ दिँदै रिजालले आगामी पाँच वर्ष पर्सा–४ को समग्र विकासका लागि निर्णायक बन्ने दाबी गरे। “अब विकासले गति लिनेछ,” उनले मतदातामाझ प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, नेता सहरुम राउत गद्दी, अजय पटेल, राधाकिशुन चौधरी लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। स्थानीयस्तरमा बढ्दो सहभागिताले पार्टी अभियानलाई थप उर्जा मिलेको कांग्रेस नेताहरूको भनाइ छ।
पर्सा–४ मा चुनावी प्रतिस्पर्धा चर्किंदै जाँदा दलहरूले घरदैलो र जनसंवादमार्फत मतदातालाई आकर्षित गर्ने प्रयासलाई तीव्र बनाएका छन्।




