वीरगंज,२९ माघ – पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा हुने प्रतिनिधिसभा निर्वाचनले यसपटक परम्परागत राजनीतिक धरातललाई चुनौती दिने संकेत देखिन थालेको छ। लामो समयदेखि राजनीतिमा सक्रिय नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीप्रति जनअसन्तोष बढ्दै गएको चर्चा भइरहेका बेला परिवर्तनको पक्षमा माहोल बन्दै गएको स्थानीय विश्लेषकहरूको आँकलन छ।
फागुन २१ गते तय भएको निर्वाचनमा नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेतर्फ मतदाताको आकर्षण क्रमशः बढिरहेको बताइन्छ। घरदैलो अभियान, टोल–टोल भेटघाट र जनसंवाद कार्यक्रममार्फत पाण्डेको सक्रिय उपस्थितिले मतदाताबीच सकारात्मक सन्देश फैलिएको समर्थकहरू बताउँछन्।
स्थानीय मतदाताहरूले पटक–पटक सांसद तथा मन्त्री हुँदा पनि अपेक्षित क्षेत्रीय विकास हुन नसकेको भन्दै नेतृत्वको शैलीमा परिवर्तन आवश्यक रहेको धारणा राखिरहेका छन्। पटेर्वा सुगौलीका एक मतदाताले भने, “अब भाषणभन्दा उपलब्धि र काम नै जनताको प्राथमिकता हो।”
उता रूपेश कुमार पाण्डेले रोजगारी सिर्जना, सुशासन, पारदर्शी प्रशासन र स्थानीय पूर्वाधार विकासलाई आफ्ना प्रमुख एजेन्डा बनाउँदै आएका छन्। विभिन्न स्थानमा उनलाई टीका–खादा लगाएर स्वागत गरिएको तथा अग्रिम शुभेच्छा दिइएको दृश्यसमेत देखिएका छन्।
यस क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) का छोटेलाल यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमाकान्त चौरसिया पनि प्रतिस्पर्धामा छन्। तर समग्र राजनीतिक अवस्था हेर्दा मुख्य टक्कर काँग्रेस र एमालेबीच सीमित रहेको विश्लेषण हुँदै आएको छ।
पर्सा–३ को निर्वाचन यसपटक केवल दलबीचको लडाइँ मात्र नभई पुस्तान्तरण, नेतृत्व शैली र विकासका एजेन्डासँग गाँसिएको रूपमा हेरिएको छ। मतदाताहरूले आश्वासनभन्दा नतिजा र भाषणभन्दा कार्यसम्पादन खोजिरहेको संकेत दिएका छन्।




