spot_img

संकटदेखि संरचनासम्म : पर्सा–१ मा प्रदीप यादवको सक्रिय भूमिका

spot_img
spot_img

वीरगञ्ज, २९ माघ – पूर्व खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफ्नो दुई कार्यकालमा निर्वाचन क्षेत्रमा पाँच दर्जनभन्दा बढी विकास आयोजना अघि बढाएको दाबी गरिएको छ।

तीमध्ये धेरै आयोजना सम्पन्न भई सञ्चालनमा आइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा रहेका छन्। केही योजनाहरू शिलान्यास भई कार्यान्वयन प्रक्रियामा छन्।

२०७४ र २०७९ को निर्वाचनमा विजयी भएका पूर्व सांसद यादवले दुवै कार्यकालमा खानेपानी, सडक, नाला, विद्यालय, अस्पताल तथा दलित आवासलगायत क्षेत्रमा करोडौं रुपैयाँ बराबरका आयोजना ल्याएको उनका स्वकीय सचिव हरेन्द्र साहले जानकारी दिए।

साहका अनुसार, “पर्सा जिल्लामा प्रदीप यादवको पहिचान भाषणले होइन, कामले बनेको हो। जनताको सुख–दुःखमा सधैं साथ दिने र संकटका बेला अग्रपंक्तिमा उपस्थित हुने उहाँको विशेषता हो। विकासका सवालमा पनि परिणाममुखी काम भएको छ।”

वीरगञ्जमा खानेपानी अभाव चुलिँदा होस् वा हैजाको महामारी फैलिँदा, यादव जनताकै बीचमा पुगेर सेवा गरेको साहले बताए। वन तथा वातावरण मन्त्री, खानेपानी मन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हाल्दा पनि उनले आफ्नो क्षेत्रसँग दूरी नबनाएको दाबी गरिएको छ। मन्त्रालयको नेतृत्वमा रहँदा समेत वीरगञ्ज र पर्साका मुद्दालाई प्राथमिकतामा राख्दै विकासको आधार तयार पारेको उनको भनाइ छ।

अर्बौंका योजना पर्सा–१ मा

वीरगञ्जमा विगत केही वर्षदेखि गर्मीयाममा दोहोरिने खानेपानी संकट समाधान गर्न करिब साढे चार सय करोड रुपैयाँ लागतको दीर्घकालीन खानेपानी आयोजना अगाडि बढाइएको छ। यसबाहेक सडक, ढलान, नाला, विद्यालय भवन तथा धार्मिक–सांस्कृतिक पूर्वाधार निर्माणमा उल्लेखनीय बजेट विनियोजन भएको जनाइएको छ।

वीरगञ्ज–१८ इनर्वा गाउँदेखि भवानीपुर हुँदै ड्राइपोर्टसम्म सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ छुट्याइएको थियो। यसले स्थानीय बासिन्दासँगै उद्योग तथा व्यापारिक सवारी साधनलाई समेत सहजता दिएको बताइएको छ।

त्यस्तै, वीरगञ्ज–३१ सोलखपुर आसपास सडक स्तरोन्नतिमा ३ करोड, वीरगञ्ज–२२ मा सडक ढलानका लागि ३ करोड तथा मनियारी गाउँ पश्चिमतर्फ सडक स्तरोन्नति तथा ढलान–नाला निर्माणमा ३ करोड रुपैयाँको योजना अघि बढेको छ।

वीरगञ्ज–२० स्थित गढीमाई मन्दिर जोड्ने सडक स्तरोन्नतिमा ३ करोड, वीरगञ्ज–२१ मा सडक निर्माणमा ३ करोड तथा वीरगञ्ज–११ श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय भवन निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन भएको जनाइएको छ।

साना तर प्रभावकारी योजना

ठूला आयोजनासँगै दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने साना योजनाहरू पनि प्राथमिकतामा परेका छन्। वीरगञ्ज–१४ पिपरामा सडक निर्माणका लागि १ करोड, वीरगञ्ज–१५ भिस्वा त्रिशुल चोकदेखि सडक निर्माणमा ५० लाख, वीरगञ्ज–१२ नेशनल ट्रेडिङदेखि रेडियो वीरगञ्ज क्षेत्रसम्म सडक निर्माणमा ५० लाख, राधेमाई सडक निर्माणमा ५० लाख तथा वीरगञ्ज–१३ नयाँ टोलको ईदगाह परिसरभित्र पूर्वाधार विकासका लागि ६० लाख रुपैयाँ विनियोजन भएको छ।

यसका अतिरिक्त १५ लाख, २५ लाख र ४० लाख रुपैयाँका दर्जनौं योजना विभिन्न वडामा सडक ढलान, नाला निर्माण तथा आधारभूत संरचना विस्तारमा कार्यान्वयन गरिएको बताइएको छ।

थप स्तरोन्नति योजना

यादवको पहलमा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ प्रसोतीपुरदेखि कोनिया गाउँ सोलखपुर हुँदै रामबनसम्म सडक स्तरोन्नतिका लागि १ करोड, वडा नं. २१ इस्लामपुरदेखि जनता सडकसम्म १ करोड तथा वडा नं. २२ जगरनाथपुर आईसिपीदेखि पूर्वतर्फ १ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो।

त्यस्तै, वीरगञ्ज–१८ मा सूर्य मन्दिर पोखरी सौन्दर्यकरणका लागि १ करोड तथा वीरगञ्ज–१२ पारस साहको घरदेखि मनिर मियाँको घर हुँदै राजेन्द्र साहको घरसम्म ढलान सडक निर्माणका लागि १ करोड रुपैयाँको योजना अघि बढेको छ। यी योजनाले धार्मिक तथा पर्यटकीय क्षेत्रको महत्व वृद्धि गर्न सहयोग पुगेको दाबी गरिएको छ।

संकटका बेला क्षेत्रमै सक्रियता

कोरोना महामारी, हैजाको प्रकोप तथा खानेपानी संकटका समयमा पनि सांसद र मन्त्रीको जिम्मेवारीमा रहँदा यादव काठमाडौंमा नबसी आफ्नो निर्वाचन क्षेत्रमा आएर जनतासँगै रहेर काम गरेको उनका स्वकीय सचिव साहको भनाइ छ। “यो कुरा यहाँका जनताले आफ्नै आँखाले देखेका र अनुभव गरेका छन्,” साहले भने।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय