spot_img

साउथजोन माध्यमिक विद्यालयको १७ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

spot_img
spot_img

वीरगंज, २९ माघ — वीरगंज महानगरपालिका–राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयले आफ्नो १७औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले बालबालिकालाई दबाबमा नभई आफ्नो रुचिअनुसार अध्ययन गर्न दिनुपर्नेमा जोड दिए। उनले अभिभावकहरूले आफ्ना सन्तान डाक्टर वा इन्जिनियर बनून् भन्ने चाहना राख्नु स्वाभाविक भए पनि अन्य विभिन्न क्षेत्र र विषयमा पनि विद्यार्थीहरूले उज्ज्वल भविष्य बनाउन सक्ने बताए।

उनले निजी विद्यालयहरूमा छात्रवृत्तिको नाममा सरकारी कर्मचारी तथा सम्पन्न परिवारका छोराछोरीले अवसर पाउने गरेको गुनासो आएको उल्लेख गर्दै छात्रवृत्ति साँच्चिकै आवश्यक पर्ने विद्यार्थीहरूलाई उपलब्ध गराइनुपर्ने धारणा व्यक्त गरे। जेन्जी आन्दोलनका क्रममा भएको आगजनीका कारण यस वर्ष महानगरपालिकाले छात्रवृत्ति छनोट गर्न नसकेको जानकारी दिँदै विद्यालयहरूलाई नै छात्रवृत्ति वितरणको जिम्मा दिइएको बताए।

विद्यालयका प्रधानाध्यापक सरोज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोईराला, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. हरिशंकर साह, मधेश प्रदेशका प्राज्ञिक सल्लाहकारहरू मणि पाख्रिन, लालबाबु पटेल, श्याम केसीलगायत प्याब्सनका जिल्ला पदाधिकारी, अभिभावक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

वीरगंज बाइपासस्थित ‘वण्डर वर्ल्ड’मा आयोजित वार्षिकोत्सव समारोहमा कक्षा नर्सरीदेखि ९ सम्मका विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो। साथै, कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

सोही अवसरमा साउथजोन ‘सिङिङ आइडल–७’ प्रतियोगिता पनि आयोजना गरिएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय