काठमाडाै,०१ फागुन । काठमाडौँ प्रशासनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रलाई अतिसंवेदनशील मान्दै जुलुस, प्रदर्शन, हड्ताल, र्याली वा भेलाजस्ता गतिविधि नगर्न कडा निर्देशन दिएको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार केही समूह र राजनीतिक दलहरूले फागुन १ गते विमानस्थल आसपास कार्यक्रम गर्ने सूचना तथा सामाजिक सञ्जाल पोस्ट गरेका थिए, जसप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ।
उनले भने, “यस प्रकारका गतिविधि गर्न स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम पूर्वस्वीकृति आवश्यक छ, तर कोही पनि अनुमति लिन आएको छैन। यस्ता गतिविधिले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने र संवेदनशील सुरक्षा जोखिम सिर्जना गर्न सक्ने सम्भावना छ।”
प्रशासनले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ कि, आसन्न निर्वाचन, फागुन ३ गतेको महाशिवरात्रि पर्व, धार्मिक एवं सांस्कृतिक गतिविधि तथा विमानस्थलको सुरक्षा र यात्रुको सहज आवागमन सुनिश्चित गर्न, विमानस्थल आसपास कुनै पनि जुलुस, प्रदर्शन, हड्ताल, र्याली वा भेला हुने कार्यक्रम नगर्न चेतावनी दिइएको छ।
साथै, सामाजिक सञ्जालमार्फत यस्ता गतिविधि प्रोत्साहित गर्ने वा उक्साउने प्रयास गर्ने जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले स्पष्ट पारेको छ।




