रौतहट,०१ फागुन । गौरको मुख्य बजार क्षेत्रमा सञ्चालनमा रहेको करदाता सेवा कार्यालयलाई सिमरास्थित आन्तरिक राजस्व कार्यालयतर्फ सार्ने तयारी भएपछि स्थानीय व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । कार्यालयका सामान ट्रकमा लोड गरी सार्ने प्रयास गरिएपछि व्यापारीहरूले ट्रक नियन्त्रणमा लिएर बजार बन्द गराएका हुन् ।
रौतहट उद्योग वाणिज्य संघका पदाधिकारी तथा स्थानीय व्यापारीहरूले सडकमा बसेर विरोध प्रदर्शन गरेपछि क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्दोलनका कारण गौर बजार क्षेत्र प्रभावित बनेको छ । संघका महासचिव सन्तोष केसरीका अनुसार ट्रकमा लोड गरिएका सामान पुनः कार्यालयमै फिर्ता राखिएको छ ।
यसैबीच नेपाली कांग्रेसका युवा नेता नितेशकुमार गुप्ताले कार्यालय सार्ने प्रक्रिया पारदर्शी नभएको भन्दै सरकारको कदमप्रति आपत्ति जनाएका छन् । उनले करदाता सेवा कार्यालय गौरमै आफ्नै भवनबाट पूर्ण रूपमा सञ्चालन हुनुपर्ने पार्टीको अडान रहेको बताएका छन् ।
विगतमा प्रमुख जिल्ला अधिकारीसँग भएको सहमतिविपरीत कार्यालय सार्ने प्रयास गरिएकाले बाध्य भएर बजार बन्दसहित आन्दोलन गर्नुपरेको महासचिव केसरीले बताएका छन् ।




