काठमाडौं,०१ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनेमा सरकारका तर्फबाट कुनै कमी नहुने दाबी गरेका छन्।
शान्ति सुरक्षा, निर्वाचन र समसामयिक विषयमा विभिन्न स्थानीय संगठनका पदाधिकारीसँग मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री अर्यालले “सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२” तयार पारिएको र कार्यान्वयनमा रहेको स्पष्ट पारे।
छलफलमा सहभागी स्थानीय तहका छाता संगठनका प्रमुख तथा पदाधिकारीहरूले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आफ्नो स्थानबाट सक्रिय समन्वयात्मक भूमिका निर्वाह गरिरहेको जानकारी दिएका छन्।
यस कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, जिल्ला समन्वय समिति महासङ्घका कार्यकारी निर्देशक भरतकुमार भट्टराई, गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले लगायत सहभागी थिए।




