वीरगंज, १ फागुन – अजय चौरसियाले पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २३ का सबैठवा, प्रसौनी तथा इटियाही क्षेत्रमा शुक्रबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो कार्यक्रमका क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्याबारे जानकारी लिएका थिए। साथै आफ्ना चुनावी एजेण्डा र भावी योजनाबारे मतदातालाई अवगत गराएका थिए।
उम्मेदवार चौरसियाले आफू उम्मेदवारहरूमध्ये सबैभन्दा शिक्षित र स्वच्छ छवि भएको व्यक्ति रहेको दाबी गर्दै जनताको पक्षमा मतदान गर्न आग्रह गरे। आफू लेखा (एकाउण्ट) विषयको विद्यार्थी भएकाले नेता तथा कर्मचारीहरूबाट हुने आर्थिक अनियमितताबारे जानकार रहेको उल्लेख गर्दै निर्वाचित भएमा देशलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो तथा जनता दर्शन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनमत आफ्नो पक्षमा बन्दै गएको दाबी गरे। अन्य उम्मेदवारहरूभन्दा आफू सक्षम र योग्य रहेको कारण जनताको समर्थन आफ्नो पक्षमा केन्द्रित भइरहेको उनको भनाइ थियो।




