काठमाडाै,०१ फागुन । शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरी गरगहना लुटपाट गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।
गत सोमबार राति आफ्नै घरमा मृत अवस्थामा फेला परेकी जोशीको हत्या योजनाबद्ध रूपमा गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक गौरब महतका अनुसार पक्राउ पर्नेमा सोही वडाका अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षीय गोपाल नाथ रहेका छन्। साउद ट्याक्टर चालक र नाथ उनका सहयोगी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउदकै योजनामा जोशीको हत्या गरी करिब दुई तोला बराबरका गरगहना लुटपाट गरिएको थियो। पक्राउ परेका अभियुक्तहरूसँगबाट लुटिएका गरगहना बरामद गरिएको छ।
अनुसन्धानका क्रममा साउद यसअघि चोरी मुद्दामा ११ महिना कैद सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको र नाथले पनि चार महिना जेल सजाय भोगेको खुलेको छ। दुवै जना लागुऔषध दुव्र्यसनमा संलग्न रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।
बयानका क्रममा दुवै जनाले आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।




