सर्लाही,०१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले सुरक्षा व्यवस्था कडा बनाएको छ। यही फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइने निर्णय गरिएको छ।
प्रशासन कार्यालयमा बसेको सुरक्षा अधिकारी र राजनीतिक दलहरूको संयुक्त बैठकले उक्त अवधिमा विदेशी नम्बर प्लेट भएका दुई पांग्रे र चार पांग्रे सवारीसाधन चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो। निर्णय उल्लंघन गरेमा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिइने जनाइएको छ।
प्रशासनका अनुसार निर्वाचनको संवेदनशीलतालाई दृष्टिगत गर्दै सम्भावित सुरक्षा जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको हो। मधेश प्रदेशका जिल्लामा भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा चारपांग्रे सवारीसाधनको प्रयोग व्यापक हुने भएकाले विशेष सतर्कता अपनाइएको बताइएको छ।
बैठकमा निर्वाचन आचारसंहिता, २०८२को पूर्ण पालना गर्ने विषयमा पनि छलफल भएको थियो। जिल्लामा रहेका राष्ट्रसेवक कर्मचारी र राजनीतिक दलहरूले आचारसंहिताको इमान्दारितापूर्वक कार्यान्वयन गर्ने तथा निर्वाचन स्वच्छ, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासनसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




