spot_img

मलेसियामा नेपाली सेक्युरिटी गार्डको पीडा: लामो ड्युटी, कम तलब र दोहोरो शोषण

spot_img
spot_img

काठमाडौं,०२ फागुन । रोजगारीको खोजीमा मलेसिया पुगेका एक लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड श्रम शोषण र असुरक्षित कार्यपरिस्थितिको मारमा परिरहेको तथ्य सार्वजनिक भएको छ। मलेसियाको सुरक्षामा १२ घण्टासम्म लगातार खटिनुपर्ने, महिनाभरि बिदा नपाउने र बिरामी पर्दासमेत तलब कटौती हुने अवस्था उनीहरूले भोगिरहेको गुनासो छ।

हाल करिब एक लाख नेपाली सुरक्षा गार्ड मलेसियामा कार्यरत रहेको अनुमान छ। श्रमिकका अनुसार ३० दिन नै दैनिक १२ घण्टा ड्युटी गर्दा मासिक करिब २,२०० रिंगिट तलब तोकिए पनि विभिन्न शीर्षकमा कटौती भएर बैंक खातामा कम रकम आउने गरेको छ। कतिपयले न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन्।

मलेसियाले न्यूनतम पारिश्रमिक १,७०० रिंगिट तोके पनि सुरक्षा गार्डहरूले उक्त दरअनुसार पारिश्रमिक नपाएको बताइएको छ। बढेको तलबअनुसार २,४०० रिंगिट पाउनुपर्ने अवस्थामा पनि उनीहरूले कम पारिश्रमिकमै काम गर्नुपरेको छ।

श्रमिक दुर्गा मगरका अनुसार लामो ड्युटी, बिदा नपाउने अवस्था र तलब कटौतीका कारण सुरक्षा गार्डहरू अत्यधिक तनावमा छन्। वैधानिक रूपमा श्रमिक पठाउने आकर्षण इन्टरनेसनलका अध्यक्ष विष्णु केसीले पनि मलेसियामा नेपाली सुरक्षा गार्डहरू चरम श्रम शोषणको शिकार भएको बताए।

मलेसियामा १,१२७ सुरक्षा कम्पनी रहेको र लाइसेन्स प्रणालीमा भइरहेको कमिसन व्यापारका कारण श्रमिक थप पीडामा पर्ने गरेका छन्। मलेसियास्थित जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाका अनुसार बिचौलियामार्फत काम पाउन नेपालीहरू १० हजार रिंगिटसम्म तिर्न बाध्य हुने गरेका छन्।

अर्कोतर्फ, बिरामी हुँदा उपचार खर्च स्वयं बेहोर्नुपर्ने र काममा अनुपस्थित भए तलब कटौती हुने दोहोरो मार पनि श्रमिकले भोगिरहेका छन्। आवासबाट कार्यस्थलसम्म पुग्न २–३ किलोमिटर जोखिमपूर्ण सडक हिँड्नुपर्ने बाध्यतासमेत रहेको उल्लेख छ।

नेपाली दूतावास मलेसियाका अनुसार हरेक महिना औसत ४० नेपालीको शव नेपाल पठाइने गरेको छ, जसमा धेरैजसो सुरक्षा गार्ड हुने बताइएको छ। गत आर्थिक वर्षमा मात्र मलेसियाबाट ३२७ नेपालीको शव नेपाल ल्याइएको तथ्यांक छ।

सन् २०१८ मा नेपाल–मलेसिया श्रम सम्झौता भए पनि व्यवहारमा श्रमिकले नै मोटो रकम तिर्नुपर्ने अवस्था अन्त्य नभएको श्रमिक अधिकारकर्मीहरूको भनाइ छ।

दूतावासले भने समस्याहरू क्रमशः सुधार हुँदै गएको दाबी गरेको छ। तर, श्रमिकहरू भने “हाम्रो पीडा सुन्ने कोही छैन” भन्दै गुनासो गरिरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय