सुनसरी,०२ फागुन । कोशी राजमार्गअन्तर्गत दुहबी–८ स्थित जुटमिल अगाडि शुक्रबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४९ वर्षीय तीर्थनारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। सप्तरी फुलहारा–३ घर भएका यादव हाल इटहरी–१३ स्थित रिलायन्स फ्याक्ट्रीको क्वाटरमा बस्दै आएका थिए। गम्भीर घाइते अवस्थामा उनलाई विराट मेडिकल कलेज टिचिङ अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार फलाम फ्याक्ट्री क्षेत्रबाट कोशी राजमार्गमा निस्किएर दुहबीतर्फ आइरहेको को २७ प ८१३४ नम्बरको मोटरसाइकल र खनारबाट दुहबीतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ३०५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। को २७ प ८१३४ नम्बरका चालक दुहबी–८ का ४५ वर्षीय सुमन राई तथा प्र १–०२–०५२ प ३०५९ नम्बरका चालक सप्तरी रुपनी गाउँपालिका–३ घर भई हाल इटहरी–१३ बस्ने ४७ वर्षीय जयनारायण साहलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




