काठमाडाै,०२ फागुन । आगामी सिजनका लागि गहुँको न्यूनतम समर्थन मूल्य तोक्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। कृषि विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यसहित १० जिल्लामा स्थलगत अध्ययन सुरु गरेको जनाएको छ।
विभागका अनुसार उत्पादनमा लाग्ने लागत, बीउ–मलको मूल्य, श्रम खर्च, मुद्रास्फीति तथा बजार अवस्थाको विश्लेषण गर्दै उत्पादन लागतमा आधारित वैज्ञानिक मूल्य निर्धारण गरिनेछ।
विभागका महानिर्देशक प्रकाश सञ्जेलले अध्ययन सम्पन्न भएपछि प्रस्तावित मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरिने जानकारी दिए। मन्त्रालयले त्यसबारे थप छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गर्नेछ।
सम्पूर्ण प्रक्रिया पूरा भएपछि समर्थन मूल्य मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिने र स्वीकृतिपछि आधिकारिक रूपमा सार्वजनिक गरिने बताइएको छ।
सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत गहुँ खरिद गरिनेछ। यस वर्ष करिब २२ लाख मेट्रिकटन गहुँ उत्पादन हुने अनुमान गरिएको छ।




