बीरगन्ज,०२ फागुन । महाशिवरात्रि पर्वका अवसरमा भारतबाट जल भरेर फर्किने क्रममा पर्साका एक कावर्थुको अचानक मृत्यु भएको छ।
मृतक जिराभवानी गाउँपालिका–३ परसवाका ४५ वर्षीय प्रदीप महतो रहेको जनाइएको छ। उनी भारतको बिहार राज्यस्थित गोबिन्दघाट क्षेत्रबाट जल भरेर फर्किँदै गर्दा अस्वस्थ भएका थिए।
काफलामा सहभागी अमित गौरोका अनुसार शुक्रबार बिहान महतोको स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय चिकित्सकबाट जाँच गराई औषधि सेवन गराइएको थियो। औषधि खाएपछि केही समय सामान्य जस्तै देखिएका उनी बिहान खाना खाई स्नानसमेत गरेका थिए।
तर दिउँसो ट्याक्टरमार्फत अरेराजतर्फ जाँदै गर्दा करिब १ बजेतिर उनलाई अचानक हृदयघात भएको र घटनास्थलमै मृत्यु भएको सहभागीहरूले बताएका छन्।
महतो दरवाना काफला समाज पर्साको परसवा भान्साका सदस्य थिए। महाशिवरात्रिका अवसरमा पर्साबाट करिब चार सय कावर्थु भारत पुगेका थिए। उनीहरूले जल भरेर जिराभवानी मन्दिरसहित विभिन्न शिव मन्दिरमा चढाउने कार्यक्रम तय गरेका थिए।
मृतक महतोको शव नेपाल ल्याई शुक्रबार साँझ हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको जनाइएको छ।




