बीरगन्ज,०२ फागुन । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा आज विशेष पुनर्मिलन कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा पर्सा क्षेत्र नं. ३ का निर्वतमान प्रदेश सांसद तथा एमालेका पुराना नेता प्रहल्लाद गिरी र युवा नेता रमेश साह सहितका नेताहरू पुनः एमालेमा फर्किएका छन्।
कार्यक्रममा सहभागी नेताहरूलाई पर्सा ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रुपेश कुमार पाण्डेय, पूर्व प्रदेश मन्त्री प्रमोद जयसवाल लगायत स्थानीय अगुवा तथा कार्यकर्ताहरूले स्वागत गर्दै खुशी व्यक्त गरेका थिए।
पुनः पार्टीमा फर्किएका नेताहरूले मुलुकको राष्ट्रियता जोगाउन एमाले बलियो बनाउनुपर्ने औँल्याउँदै आगामी निर्वाचनमा सूर्य छापमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।
प्रहल्लाद गिरीले पनि रुपेश कुमार पाण्डेयलाई समर्थन जनाउँदै पार्टीको अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमपछि क्षेत्र नं. ३ मा एमालेको संगठन थप मजबुत हुने पार्टीको विश्वास रहेको छ।




