spot_img

२६३ औँ सेना दिवस आज: टुँडिखेलमा विशेष परेड र समारोह

spot_img
spot_img

काठमाडौँ,०३ फागुन । नेपाली सेना ले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ। महाशिवरात्रिको अवसर पारेर मनाइने सेना दिवसको मुख्य समारोह काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेल मा आयोजना हुँदैछ।

समारोहमा रामचन्द्र पौडेल को प्रमुख आतिथ्य रहनेछ। नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलको उपस्थितिमा महाशिवरात्रि बढाइँ, विशेष परेड, तोप बढाइँ, कवाज प्रदर्शन तथा सैनिक कला र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार जङ्गी अड्डामातहत रहेका पृतना, बाहिनी, गण र गुल्महरूका साथै कूटनीतिक नियोग र विभिन्न शान्ति मिसनमा समेत सेना दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएका छन्। यस दिन सैनिक इतिहास, वीरता र बलिदानको स्मरण गर्दै संस्थागत योगदानको सम्मान गरिन्छ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि विभिन्न कालखण्डमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। वर्तमान सङ्गठनात्मक स्वरूपको सुरुआत वि.सं. १८१९ सालदेखि भएको मानिन्छ। देशभक्ति, अनुशासन र समर्पणका आधारमा सेनाले नागरिकमाझ विश्वास कायम राख्दै आएको छ।

संविधानले तोकेको राष्ट्रिय एकता र सुरक्षा कायम गर्ने जिम्मेवारी वहन गर्दै आएको सेनाले विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, सम्पदा संरक्षण तथा राष्ट्रिय गौरवका आयोजनामा समेत सक्रिय सहभागिता जनाउँदै आएको छ।

संयुक्त राष्ट्रसङ्घ को आह्वानमा नेपाली सेनाले सन् १९५८ देखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा सहभागिता जनाउँदै आएको छ। हालसम्म ४४ शान्ति मिसनमा एक लाख ६२ हजारभन्दा बढी नेपाली शान्ति सैनिक परिचालन भइसकेका छन्।

शान्ति स्थापनाकै क्रममा ७४ सैनिकले ज्यान गुमाएका छन् भने ७७ जना घाइते भएका छन्। हाल विश्वका १० मिसनमा ३९१ महिलासहित चार हजारभन्दा बढी नेपाली शान्ति सैनिक कार्यरत रहेका छन्, जसले महिला शान्ति सैनिक परिचालनमा नेपाललाई अग्रस्थानमा राखेको छ।

भक्तपुर खरिपाटीस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, सैनिक शिक्षालय तथा शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेज अन्तरराष्ट्रिय सैनिक तालिमका महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएका छन्, जहाँ विभिन्न देशका सैनिक अधिकारीले तालिम लिँदै आएका छन्।

सेनाले विपद् उद्धार, हिमाल सफाइ अभियान, सडक पूर्वाधार निर्माण तथा काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणजस्ता राष्ट्रिय परियोजनामा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। सेना दिवसले सैनिक इतिहास, बलिदान र राष्ट्रिय सुरक्षाप्रतिको प्रतिबद्धतालाई स्मरण गर्दै सैनिक–नागरिक सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय