spot_img

बगही टोलमा अशोक टेमानीको घरदैलोः खानेपानी, शिक्षा र स्वास्थ्य सुधार प्राथमिकतामा

spot_img
spot_img

बीरगन्ज,०३ फागुन ।  बीरगन्ज महानगरपालिका–२८ अन्तर्गत बगही टोलमा प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले सघन घरदैलो अभियान सञ्चालन गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार टेमानीले चुनावी अभियानका क्रममा घर–घर पुगेर नागरिकका समस्या र अपेक्षाबारे जानकारी लिएका हुन्।

संवादका क्रममा स्थानीयवासीले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका समस्या प्रमुख रूपमा उठाएका थिए। अर्ध–ग्रामीण स्वरूपको यस क्षेत्रमा आधारभूत सेवाको पहुँच अझै सन्तोषजनक नभएको उनीहरूको गुनासो थियो।

स्थानीयका अनुसार कतिपय टोलमा धारा तथा पाइपलाइनको अवस्था कमजोर छ भने गर्मी याममा पानीको अभाव झनै गम्भीर बन्ने गरेको छ। दैनिक उपभोगका लागि समेत पानी जुटाउन कठिनाइ हुने अवस्था रहेको उनीहरूले बताए।

शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयमा शिक्षक अभाव, कमजोर भौतिक पूर्वाधार र आवश्यक शैक्षिक सामग्रीको कमीका कारण विद्यार्थीको पढाइ प्रभावित भइरहेको गुनासो गरिएको छ। उच्च शिक्षाका लागि अन्य स्थान जानुपर्ने बाध्यता पनि रहेको बताइएको छ।

स्वास्थ्य सेवामा पनि समस्या उस्तै देखिएको छ। सामान्य उपचारका लागि टाढाका स्वास्थ्य संस्था धाउनुपर्ने, स्वास्थ्य चौकीमा औषधि, उपकरण तथा दक्ष जनशक्ति अभाव हुने गरेको स्थानीयको भनाइ छ। आकस्मिक अवस्थामा तत्काल सेवा नपाउँदा जोखिम बढ्ने समस्या पनि औंल्याइएको छ।

कृषि क्षेत्रका किसानले समयमा मल तथा उन्नत बीउ नपाउने, सिँचाइ सुविधा अभावका कारण उत्पादन घट्ने र उत्पादनको उचित मूल्य नपाउने समस्या रहेको बताएका छन्। मुख्य पेशा कृषि भए पनि आवश्यक पूर्वाधार र सरकारी सहयोगको कमीले जीवनयापन कठिन बन्दै गएको उनीहरूको गुनासो छ।

स्थानीयका सुझाव र समस्या सुनेपछि उम्मेदवार टेमानीले आफू निर्वाचित भएमा खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आधारभूत सेवा सुदृढीकरणलाई मुख्य एजेन्डा बनाउँदै जनताका अपेक्षाअनुसार काम गर्ने उनले बताए।

घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो। विकास, रोजगारी र आधारभूत सेवाको सुधारप्रति जनताको चासो स्पष्ट देखिएको उक्त कार्यक्रममा करिब १२५ जनाले पार्टी प्रवेशसमेत गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय