बीरगन्ज,०३ फागुन । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्लाका ग्रामीणदेखि सहरी क्षेत्रसम्म अवैध घरेलु मदिराको उत्पादन तथा बिक्री–वितरण बढेको स्थानीयको गुनासो छ। केही महिनाअघि सञ्चालन गरिएको मदिरा भट्टी नष्ट गर्ने तथा तस्करी नियन्त्रण अभियान सुस्ताएपछि अवैध कारोबार पुनः मौलाएको बताइन्छ।
स्थानीयका अनुसार पर्सागढी, पटेर्वा सुगौली, सखुवा प्रसौनी, जिराभवानी र ठोरीलगायतका पालिकाका विभिन्न बस्तीहरू अहिले घरेलु मदिरा उत्पादनको केन्द्र बनेका छन्। उत्पादन गरिएका मदिरा जिल्लाका चोक–चौराहा र बजार क्षेत्रमा सहजै पुग्ने गरेको दाबी गरिएको छ।
सीमावर्ती क्षेत्रदेखि भित्री बजारसम्म राति अबेरसम्म मदिरा पसल सञ्चालन हुने गरेको स्थानीयको भनाइ छ। जानकीटोला, पोखरिया, लंगडी, बिन्दवासिनी, ठोरी, मनिहर्वा, देवरिया, सुगौली, रंगपुरटाँडी, मनवा, मिलनचोक, महुवन, श्रीपुर पञ्चगाँवा, परवानीपुर, गण्डक, जितपुर, सिमरालगायत क्षेत्रमा समेत अवैध कारोबार बढेको आरोप छ। यति हुँदा पनि सुरक्षा निकायले प्रभावकारी निगरानी नगरेको भन्दै ‘देखेर पनि नदेखेजस्तै’ व्यवहार गरिएको स्थानीय बताउँछन्।
स्थानीय समाजसेवीका अनुसार अवैध मदिराले स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै घरेलु हिंसा, झैँ–झगडा र युवापुस्तामा विकृति बढाउने जोखिम सिर्जना गरेको छ। निर्वाचनका बेला मदिराको प्रयोग झनै बढ्ने भएकाले यसले चुनावी सुरक्षामा चुनौती थप्ने चिन्ता व्यक्त गरिएको छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले प्रहरीले सूचना प्राप्त भएअनुसार कारबाही गरिरहेको दाबी गरे। “अवैध गतिविधि रोक्न हामी प्रतिबद्ध छौँ, प्राप्त सूचनाका आधारमा निरन्तर अनुगमन र कारबाही भइरहेकै छ,” उनले बताए।
यद्यपि, प्रहरीको दाबी र वास्तविक अवस्था फरक रहेको स्थानीयको आरोप छ। नागरिक समाजले निर्वाचनपूर्व नै कडाइका साथ अनुगमन तथा नियन्त्रण अभियान सञ्चालन गर्न माग गरेको छ, ताकि चुनावी वातावरण स्वच्छ र सुरक्षित रहोस्।




