काठमाडाै,०३ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट उम्मेदवार बनेका महावीर पुन यतिबेला विकट गाउँबस्तीमा सादा चुनावी अभियानमा व्यस्त छन्। माघ ६ गते उम्मेदवारी दर्तापछि उनले मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएका छन्।
न त ठूलो कार्यकर्ता टोली, न त प्रचार सामग्रीको तामझाम—एक चालक र एक सहयोगी मात्र साथमा लिएर पुन गाउँ–गाउँ पुगेका छन्। उनी हरेक दिन सामाजिक सञ्जालमार्फत भोलिपल्टको कार्यक्रम सार्वजनिक गर्छन् र सोहीअनुसार बस्तीमा पुगेर छोटो संवाद गर्छन्। एक ठाउँमा करिब एक घण्टा बिताउने उनले दिनमै दर्जनभन्दा बढी बस्ती भेट्ने गरेका छन्।
उनको चुनावी शैली पनि फरक देखिन्छ। मत माग्दा उनी सीधै भन्छन्, “मन लागे भोट देऊ, नलागे नदेऊ।” प्रचारकै क्रममा जहाँ पुग्छन्, त्यहीँ बास बस्ने र स्थानीयले दिएको खानामै सन्तुष्ट रहने गरेका छन्। कतिपय स्थानमा समर्थकहरूले आर्थिक सहयोगसमेत गर्ने गरेका छन्, तर सङ्कलित रकमबारे उनले सार्वजनिक रूपमा विवरण दिएका छैनन्।
शिक्षा सुधार मुख्य एजेन्डा
भदौ २३–२४ को जेनजी आन्दोलनपछि बनेको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका पुनले चुनावअघि नै पद त्यागेका थिए। मन्त्री हुँदा शिक्षा सम्बन्धी कानुन ल्याउने प्रयास असफल भएपछि संसद्मार्फत सुधार अघि बढाउनुपर्ने निष्कर्षमा पुगेको उनले बताएका छन्।
सार्वजनिक शिक्षा सुधार, शिक्षामा राजनीति र अनियमितता अन्त्य तथा अनुसन्धान–नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कानुनी ढाँचा निर्माण आफ्नो प्रमुख लक्ष्य भएको पुनले बताएका छन्। आफूले विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धी ऐन ल्याउन खोज्दा सहकार्य नपाएको उनको भनाइ छ।
मतदातामा ‘परिवर्तनको मुड’
म्याग्दीका मतदातामा यस पटक ‘नयाँ अनुहारलाई अवसर’ दिनुपर्ने धारणा बलियो देखिएको छ। बेनी नगरपालिका–७ की सायजा बेगमले चुनावताका वाचा गरिएका रोजगार र लालपुर्जाका प्रतिवद्धता पूरा नभएको गुनासो पोखिन्।
मालिका गाउँपालिका–५ की ६२ वर्षीया सूर्यकुमारी सिउठानीले गाउँमा सडक, खानेपानी, स्वास्थ्य र शिक्षाको अवस्था अझै कमजोर रहेको बताउँदै पुराना प्रतिनिधिबाट आशा टुटेको बताइन्।
बेनी–६ अर्थुङ्गेका ८० वर्षीय सम्मरबहादुर केसीले रोजगार अवसर नहुँदा युवा विदेशिनु परेको भन्दै गाउँ रित्तिँदै गएको चिन्ता व्यक्त गरे। “हरेक चुनावमा रोजगारीको वाचा हुन्छ, तर गाउँमा काम देखिँदैन,” उनले भने।
चुनावी माहोल तातेसँगै पुनको सादा अभियान र मतदाताको बदलिँदो मनोविज्ञानले यसपटकको निर्वाचनलाई रोचक बनाएको छ।




