काठमाडौं,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले छोटो समयमै देशभर जनताको माया, विश्वास र सद्भाव प्राप्त गरेको बताएका छन्।
शनिबार रामेछापमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा घिसिङले स्थापना भएको करिब तीन महिनामै व्यापक समर्थन देखिएको बताए। उनले भने, “आज देशैभरी उज्यालो नेपाल पार्टी छोटो समयमा यति धेरै जनताको माया, विश्वास र सद्भाव पाएको छ कि अब एक नम्बरको पार्टी बन्न धेरै समय लाग्दैन।”
उपलब्ध अवसरलाई प्रयोग गर्दै उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा २०–२१ दिनको अभियानमा बढीभन्दा बढी सिट जित्ने लक्ष्य रहेको बताए। साथै, निर्वाचनपछिको सरकार नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै उज्यालो नेपाललाई ‘चमत्कारी पार्टी’को रूपमा स्थापित गर्ने दाबी गरे।
घिसिङले संगठन विस्तारमा निरन्तर केन्द्रित हुने बताए र करिब १५–१६ महिनापछि हुने प्रदेश र स्थानीय तह निर्वाचनमा पार्टीलाई देशको पहिलो पार्टी बनाउने लक्ष्य रहेको उल्लेख गरे।




