spot_img

सर्लाहीमा गोली प्रहारबाट सब–इन्जिनियरको हत्या

spot_img
spot_img

जनकपुर,०४ फागुन । सर्लाहीको सदरमुकाम मलंगवामा अज्ञात समूहको गोली प्रहारबाट एक सब–इन्जिनियरको मृत्यु भएको छ। जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय प्रमोद कुमार यादवको आइतबार राति गोली हानी हत्या भएको प्रहरीले जनाएको छ।

प्रमोद कुमार यादवको मूल घर सिरहाको सुखीपुर नगरपालिका–६ भए पनि उनी हाल मलंगवा नगरपालिका–१० देवीटोलमा डेरा गरी बस्दै आएका थिए। प्रहरीका अनुसार आफ्नै निवास अगाडि उनीमाथि गोली प्रहार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार बेलुका करिब ८ः०५ बजे अज्ञात व्यक्तिले यादवमाथि गोली चलाएका थिए। घर अगाडिको प्यासेजमा गोली लागेर घाइते अवस्थामा देखेपछि उनकी श्रीमतीले तत्काल प्रहरीलाई खबर गरेकी थिइन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा २५ सदस्यीय विशेष टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि चिकित्सकले राति ८ः३७ बजे मृत घोषणा गरेका थिए। यसबारे जानकारी सरोज राईले दिएका छन्।

घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब दुई किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ। घटनापछि प्रहरीले जिल्लाका मुख्य नाकाहरूमा सुरक्षा कडाइ गर्नुका साथै फरार आक्रमणकारीको खोजी तीव्र बनाएको जनाएको छ।

प्रहरीका अनुसार घटनाको कारण र संलग्न व्यक्तिबारे विस्तृत अनुसन्धान भइरहेको छ। सरकारी कर्मचारीमाथि निवासमै भएको यस प्रकारको साङ्घातिक आक्रमणले स्थानीय सुरक्षा व्यवस्थाप्रति चिन्ता बढाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय