वीरगञ्ज, ४ फागुन – निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले आफ्नो चुनावी कार्यक्रमलाई थप तीव्र बनाएका छन्। निरन्तर चुनावी कार्यक्रममा व्यस्त पूर्वमन्त्रीसमेत रहेका उम्मेदवार यादवले सोमबार बिहान वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवामा चुनाव प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।
उक्त अवसरमा एमाले केन्द्रीय सदस्य उर्मिला देवकोटा, प्रभु हजरा, नेताहरू मानदेव हजरा, सुन्दर कुर्मी, देवनाथ चौरसिया, रामबाबु पासवान, भुसाल चौरसिया, अरुण यादव लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
आजदेखि सुरु भएको निर्वाचन–केन्द्रित प्रचार–प्रसारलाई थप सक्रियताका साथ अघि बढाउन कार्यालय स्थापना गरिएको नेताहरूले बताएका छन्। कार्यक्रम सञ्चालनमा आएसँगै सो क्षेत्रमा चुनावी प्रचार–प्रसार तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ।
कार्यालय उद्घाटनपछि प्रतिक्रिया दिँदै उम्मेदवार यादवले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा समृद्ध वीरगञ्ज निर्माणको लक्ष्यसहित कार्यालय सञ्चालनमा ल्याइएको बताए।
यसैबीच, आज बिहान वीरगञ्ज–१८ सौराहामा प्रदीप यादवको घरदैलो कार्यक्रम तय गरिएको भए पनि स्थानीय बलिस्टर यादवको निधनका कारण उक्त कार्यक्रम स्थगित गरिएको क्षेत्रीय कमिटीले जनाएको छ। साथै, पार्टीका नेताहरू स्वर्गीय यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी हुने एमालेले जानकारी दिएको छ।




