वीरगञ्ज, ४ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सिए अजय चौरसियाले आफ्नो चुनावी अभियानअन्तर्गत आज वीरगञ्ज महानगरपालिका–८ गहवा, रेल्वे रोड, राम टोल लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार चौरसियाले स्थानीय मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्ना चुनावी प्रतिबद्धता र प्राथमिकताहरू सार्वजनिक गरेका थिए। उनले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपश्चात् क्षेत्रीय तथा राष्ट्रिय विकासलाई प्राथमिकतामा राखी काम गर्ने योजना प्रस्तुत गर्दै तारा चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन अपिल गरे।
उनले देशको समृद्धिका लागि सक्षम र नीतिगत ज्ञान भएका व्यक्तिहरू नेतृत्वमा पुग्नुपर्ने आवश्यकता औंल्याउँदै कम शिक्षित तथा नीतिगत अनुभवविहीन नेतृत्वका कारण विकास प्रक्रिया प्रभावित भएको धारणा व्यक्त गरे। आगामी निर्वाचनमार्फत योग्य, अनुभवी र प्रमाणित व्यक्तिलाई जिम्मेवारीमा पुर्याउनुपर्ने उनले बताए।
आफूलाई सफल व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट (सिए) तथा शिक्षित युवा नेतृत्वका रूपमा प्रस्तुत गर्दै चौरसियाले निर्वाचित भएपछि मुलुकमा देखिएको आर्थिक चुनौती समाधानका लागि ठोस नीतिगत पहल गर्ने प्रतिबद्धता जनाए। साथै, भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ नीति निर्माण, देशभित्रै रोजगारीका अवसर विस्तार गरी युवाको विदेश पलायन रोक्ने तथा आधुनिक कृषि प्रणालीको विकासमा विशेष जोड दिने उनले उल्लेख गरे।
त्यसैगरी, वीरगञ्जको पूर्वाधार विकास, व्यापार प्रवर्द्धन तथा लगानीमैत्री वातावरण सुदृढ गर्दै सहरलाई वास्तविक आर्थिक केन्द्रका रूपमा स्थापित गर्न आफू सक्रिय रहने उनले बताए।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाबाट प्राप्त सुझाव र गुनासाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो अभियानलाई जनतासँगको प्रत्यक्ष संवादमा आधारित बनाएको उल्लेख गरे। मतदाताको साथ र समर्थन प्राप्त हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ।




