ललितपुर,०४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। आइतबार ग्वार्कोस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ३२ पृष्ठ लामो दस्तावेज सार्वजनिक गरिएको हो।
कार्यक्रममा पार्टी अध्यक्ष अशोक कुमार राई ले प्रतिबद्धतापत्रलाई केवल चुनावी घोषणा नभई पार्टीको राजनीतिक विचार, दृष्टिकोण र भावी कार्यदिशा समेटिएको मार्गचित्रका रूपमा प्रस्तुत गरे। उनले राजनीतिक स्थायित्व र प्रत्यक्ष लोकतन्त्र सुदृढ गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली आवश्यक रहेको धारणा व्यक्त गरे।
केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा घोषणापत्र लेखन समितिका संयोजक मनिकर कार्की ले समाजवादी चरित्रको राज्य निर्माणलाई लक्ष्य बनाएर विकास, समृद्धि र प्रगतिमुखी कार्यक्रम समावेश गरिएको जानकारी दिए।
पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद्, प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था, संविधान संशोधन, समावेशी प्रतिनिधित्व, जनलोकपाल गठन, आर्थिक सुधार तथा समाजवादी अर्थनीति कार्यान्वयनलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेको जनाएको छ।
यसका साथै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा संघीय संरचनाअनुसार प्रदेश र स्थानीय तहलाई थप अधिकार सुनिश्चित गर्ने नीति पनि प्रतिबद्धतापत्रमा समेटिएको उल्लेख गरिएको छ।




