बीरगन्ज,०४ फागुन । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार जावेद एकवाल हैदरमाथि निर्वाचन प्रचार-प्रसारको क्रममा सांघातिक हमला भएको घटनाप्रति पिपुल फ्रष्ट पार्टीले आपत्ति जनाएको छ। पार्टीका संयोजक प्रशान्त सिंहले सोमबार जारी विज्ञप्तिमा घटनालाई दुर्भाग्यपूर्ण र आपत्तिजनक ठहर गर्दै यसको घोर निन्दा गरेका छन्।
सिंहका अनुसार निर्वाचन अवधिमा उम्मेदवारमाथि यस्तो हमला निर्वाचनको निष्पक्षता, तटस्थता र स्वच्छ प्रतिस्पर्धामा प्रश्न उठाउने खालको रहेको छ। उनले दोषीहरूको पहिचान गरी आवश्यक अनुसन्धान र कारबाहीको दायरामा ल्याउन सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।
पिपुल फ्रष्ट पार्टीले घाइते उम्मेदवारको उपचार सुनिश्चित गर्न र उनका लागि पूर्ण सुरक्षा व्यवस्था गर्न जोड दिएको छ। संयोजक सिंहले भने, “निर्वाचन अवधिमा उम्मेदवारमाथि हुने हिंसात्मक घटनाप्रति हाम्रो पार्टी गम्भीर ध्यानाकर्षण राख्छ र यसप्रति संवेदनशील भएर आवश्यक कदम चाल्न सरकार र सुरक्षा निकायसँग माग गर्दछ।”
पार्टीले विज्ञप्तिमा निर्वाचन आयोग, निर्वाचन कार्यालय तथा सुरक्षा निकायहरूलाई पनि यस घटनामा विशेष ध्यान दिन आग्रह गरेको छ। उनीहरूले उम्मेदवारमाथि हुने कुनै पनि हिंसा लोकतान्त्रिक प्रक्रियामा बाधा पुर्याउने भएकाले यस्ता घटनालाई रोक्न कडा कदम आवश्यक रहेको स्पष्ट पारेका छन्।
घटनापछि पर्सा–१ मा निर्वाचन सुरक्षा कडा पारिएको छ र उम्मेदवारको सुरक्षित मतदान सुनिश्चित गर्न उच्च सतर्कता अपनाउने तयारी भइरहेको छ।




