बीरगन्ज,०४ फागुन । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्रको छपाइ आज दिनभरमा पूर्णरूपमा सम्पन्न हुने भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बाँकी रहेका करिब पाँच लाख मतपत्र आजै छपाइ गर्ने लक्ष्य पूरा गरेको छ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेल का अनुसार प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्रमध्ये बाँकी पाँच लाख मतपत्र आजै छपाइ गरिनेछ। उनले भने, “४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरेका थियौँ, आज ४० दिनमै अन्तिम चरण सम्पन्न हुँदैछ।”
छपाइ सम्पन्न भएपछि भोलिसम्ममा सबै मतपत्र प्याकिङ गरी सम्बन्धित जिल्लामा ढुवानी गरिने जानकारी दिइएको छ। दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ हुँदै आएको र यो प्रक्रियाले लक्ष्यभन्दा अघि नै काम सम्पन्न भएको छ।
यसअघि नै १० लाख नमूना मतपत्र निर्वाचन आयोगमार्फत विभिन्न स्थानमा पठाइएको छ। समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको र जिल्ला–जिल्लामा वितरण जारी रहेको जनाइएको छ।
कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र वितरण भइसकेको छ भने बाँकी क्षेत्रका मतपत्र फागुन १२ गतेभित्र पुर्याउने लक्ष्यका साथ काम भइरहेको केन्द्रले जनाएको छ।




