काठमाडौं,०४ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले कांग्रेसले अब देशको शासन, भाषण शैली र नेतृत्व प्रणालीमा सुधार ल्याउने बताए।
सोमबार लम्जुङमा आयोजित खुला सभामा बोल्दै उपसभापति शर्माले सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काइने स्पष्ट पारे। उनले भने, “अब उप्रान्त कोही पनि प्रधानमन्त्री वा मुख्यमन्त्री दुई पटकभन्दा बढी रहन नपाउने व्यवस्था सुनिश्चित हुनेछ।”
उपसभापति शर्माले चुनावी प्रचारमा गाली होइन, प्रेम र सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै स्वस्थ आलोचना स्वाभाविक भए पनि अरूलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन नसकिने बताए।
उनले मतदातालाई आश्वासन दिने क्रममा समाजमा निराशा नउत्पन्न गरिने कुरामा पनि जोड दिए। उनले भने, “देशको शासनमा आवश्यक सुधारको योजना हामीले तयार पारेका छौं। जेनजी विद्रोहको भावना अनुसारको सुधार, परिमार्जन र परिवर्तनलाई हामी लागू गर्नेछौं। देश जान्दछ कांग्रेस बदलिएको छ र यसले सुधार ल्याउन सक्षम छ।”




