spot_img

३४०६ मध्ये ६७१ उम्मेदवारले मात्रै खोले बैंक खाता

spot_img
spot_img

काठमाडौं,०४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएको अनिवार्य बैंक खाता व्यवस्था कार्यान्वयनमा अपेक्षाकृत कम प्रगति भएको देखिएको छ। निर्वाचन आयोगका अनुसार देशभरका ३ हजार ४०६ उम्मेदवारमध्ये हालसम्म ६७१ जनाले मात्रै चुनावी प्रयोजनका लागि बैंक खाता खोलेका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचारप्रसारका लागि हुने सबै आम्दानी र खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए। निर्वाचन खर्चलाई पारदर्शी र व्यवस्थित बनाउन यो प्रावधान लागू गरिएको हो।

यस व्यवस्था कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उम्मेदवारको नाममा खाता खोल्न सहजीकरण गर्न परिपत्र जारी गरिसकेको छ।

आयोगले खाता खोल्ने क्रममा देखिएका समस्या तथा प्राविधिक जटिलताबारे बैंक तथा वित्तीय संस्थाबाट विवरण संकलन गरिरहेको जनाएको छ। खोलिएका खाताको सञ्चालन प्रक्रिया, व्यवस्थापन ढाँचा र बैंकहरूको भूमिकाबारे स्पष्टता दिन आयोगले सोमबार सरोकारवालासँग छलफलसमेत गरेको थियो।

बैंक तथा वित्तीय संस्थाले निर्वाचन खर्च पारदर्शी बनाउने अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको आयोगले जनाएको छ। वित्तीय सुशासन कायम गर्न अपेक्षाअनुसारको सहकार्य भइरहेको प्रवक्ता भट्टराईले बताए।

यसबाहेक, मतदाता शिक्षा प्रभावकारी बनाउन बैंकका मोबाइल एप, एटीएम मेसिन र अन्य डिजिटल डिस्प्ले प्लेटफर्ममार्फत सचेतनामूलक सामग्री प्रसारण गर्न आयोगले अनुरोध गरेको पनि जानकारी दिइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय